आईएनआई चेनले ‘कमर्सियल शो’मा क्यामेरा र बुम प्रवेशमा निषेध गर्ने , दियो यस्तो कारण

0 Shares

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना देशभरका हलमा ‘कमर्सियल शो’को क्रममा क्यामेरा र बुम प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ।

दर्शकको गोपनीयतालाई प्राथमिकता दिँदै यस्तो कदम उठाइएको कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही समयदेखि पत्रकार तथा सञ्चारमाध्यमले फिल्म प्रदर्शन भइरहेका हलमा दर्शकसँग प्रश्न–उत्तर गर्ने क्रममा उनीहरूको फिल्म हेर्ने अनुभवमा बाधा पुगेको र गोपनीयता उल्लंघन भएको गुनासा बढ्दै आएका थिए। त्यसलाई मध्यनजर गर्दै अबदेखि आमन्त्रण गरिएका विशेष कार्यक्रमहरू (जस्तै प्रिमियर, गीत वा ट्रेलर रिलिज) बाहेकका कमर्सियल शोमा क्यामेरा र बुम तेर्साएर प्रश्न सोध्ने कार्य पूर्णरूपमा निषेध गरिएको छ।”

यो निर्णय हाललाई गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलस्थित विश्वज्योति मल, बुटवल सिटी सेन्टर र सिमराको केएसआर हलमा लागू हुने कम्पनीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत पनि हालै दर्शकहरूले हलभित्रको गोपनीयता उल्लंघनबारे असन्तोष व्यक्त गर्दै आएका थिए। कुनै नेपाली फिल्म हलले यसरी संस्थागत रूपमा यस्तो कदम उठाएको यो पहिलोपटक हो।

सम्बन्धित समाचार

सबै