‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु

0 Shares

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को प्रि–बुकिङ खुलेको छ। हलहरूले शो सार्वजनिक गर्दै प्रि–बुकिङ सुरू गरेका हुन्।

यसले सन्तोषजनक शो पाएको छ। हाल धेरै नेपाली चलचित्र एकसाथ प्रदर्शनमा रहेका कारण ‘गुन्यु चोलो : द ड्रेस’ ले पर्याप्त शो नपाए पनि, पाएको शो भने सन्तोषजनक देखिएको छ। ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’ लगायतका फिल्महरू प्रदर्शनमा रहेकाले यसले बढी शो पाउन सकेको छैन।

यद्यपि, काठमाडौंका मल्टिप्लेक्स चेन क्यूएफएक्सले पहिलो दिन (शुक्रबार) का लागि मात्र १४ शो छुट्याएको छ। दर्शक संख्या उल्लेख्य रहेकाले यो शो संख्या कम नभएको मानिन्छ। दर्शकको मागअनुसार हलहरूले शो थप्ने परम्परा पनि रहेको छ।

ट्रेलर र प्रमोशनल सामग्रीमा नाजिर हुसेनको अभिनयलाई धेरैले प्रशंसा गरेका कारण निर्माण पक्षलाई दर्शकले फिल्मलाई मन पराउने विश्वास छ।

‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते (शुक्रबार)देखि रिलिज हुँदैछ। समुन्द्र भट्ट निर्देशित यस फिल्ममा लैंगिक अल्पसंख्यक पात्र, विशेषगरी पारालैंगिक (ट्रान्सवुमन) को कथा प्रस्तुत गरिएको छ।

फिल्ममा नाजिर हुसेनले मुख्य भूमिकामा अभिनय गरेका छन्। उनले पारालैंगिक महिलाको (ट्रान्सवुमन) भूमिका निर्वाह गरेका हुन्। उनका साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय रहेको छ।

नेपालको पहिलो पूर्ण ट्रान्स–स्टोरीमा बनेको यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको ‘बफेलो एट्ले’ ले खरिद गरेको छ। सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम विदेशमा हलिउड शैलीमा गरिएको छ — एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्म।

फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड स्कोर मार्सेलो दी फ्रान्सिसीले तयार गरेका हुन्। लिजाले यसअघि हलिउड फिल्म ‘Gladiator 2’ मा पनि स्वर दिएकी थिइन्।

यो फिल्म नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। आकाश बुढाथोकी र भी–भन्से जानुबोनले लगानी गरेका छन्। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माता हुन्।

आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीका गीत रहेका छन्। यस फिल्मलाई अमेरिकाको प्रतिष्ठित Tashwir Film Market मा पनि छनोट गरिएको थियो।

सम्बन्धित समाचार

सबै