‘कोशेढुङ्गा’को बिहानी शोको व्यापार बिर्सनलायक, अहिले के छ अवस्था?

0 Shares

ध्यानपूर्वक हेरिएको फिल्म ‘कोशेढुङ्गा’ को प्रारम्भिक बक्स अफिस रिपोर्ट भने निराशाजनक देखिएको छ। बिहीबार बिहान १२ बजेअघि अधिकांश शोहरू खाली भएको रिपोर्ट प्राप्त भएको छ।

विहानी शोका हलहरूमा सिट अकुपेन्सी न्यून देखियो। सर्वकालीन व्यापार गरेको ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको नयाँ फिल्म भएकाले दर्शकको उल्लेख्य आकर्षण हुने अनुमान गरिएको थियो। तर, एडभान्स बुकिङ खुलेदेखि नै दर्शकको रुचि कम देखिएको थियो। यसको एडभान्स बुकिङ ५% भन्दा तल मात्र रहेको थियो।

रिलिजको बिहानी शोमै दर्शक नदेखिएकाले अब यो फिल्म पूर्णतया वर्ड अफ माउथमा निर्भर हुने देखिन्छ। तर यदि अपरान्हमा पनि दर्शकको संख्यामा सुधार भएन भने फिल्म बक्स अफिस दुर्घटनातर्फ धकेलिन सक्ने अनुमान गरिएको छ।

यद्यपि बिहानी शो प्रायः अफ–टाइम मानिन्छ। त्यसमा पनि हिजो रातिदेखि परेको अविरल वर्षाले दर्शकलाई हलसम्म पुग्न रोकिएको हुनसक्छ। पछिल्लो अपडेटअनुसार नेपालगन्जको सिने रोयलमा १२ बजेको शो भने लगभग हाउसफुल भएको छ, जसको तस्बिर मेकरहरूले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

देशभरको सेल्स हेर्दा कतै हाउसफूल हुने देखिन्छ भने कतै निरासाजनक हुने छनक देखिएको छ ।

अब सिनेमाका लागि भोलि शुक्रबार र पर्सी पर्ने शनिबारको बिदाले विशेष अर्थ राख्नेछ । यो दिनको फुटफलले यो फुटफलले दिने ‘वर्ड अफ माउथ’ले सिनेमाको व्यापारलाई निर्देशित गर्नेछ ।

गत हप्ता रिलिज भएको ‘माग्ने राजा’ को बिहानी शो पनि निराशाजनक थियो, १२ भन्दा बढी शोहरू क्यान्सिल भएका थिए। तर दिउँसो २ बजेपछि हलहरूमा दर्शकको उपस्थिति बढ्दै गयो र सो लय अहिले पनि सुखद रूपमा चलिरहेको छ।

आशा छ ‘कोशेढुङ्गा’ ले पनि यही बाटो पछ्याउनेछ। आज दिउँसोदेखि र विशेषगरी भोलि शनिबारको बिदाको दिनमा दर्शकको चाप कस्तो हुन्छ भन्ने कुराले फिल्मको बक्स अफिस भविष्य तय गर्नेछ। नेपाली फिल्ममा प्रायः एडभान्समा टिकट नकट्ने, विन्डो सेलमा बढी निर्भर हुने प्रवृत्ति भएकाले ‘कोशेढुङ्गा’ ले पनि त्यही लय पक्रने अपेक्षा गरिएको छ।

यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, मञ्जिल कुमार, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल र विकास खनाललगायत कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै