असार २७ बाट प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। बालाजुस्थित अष्टनारायण हलमा ५१ औँ दिनको उत्सव आयोजना गरिएको हो।
फिल्मको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलिब्रेशन गरेको थियो। कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अन्य फिल्मझैं टिकट काटेर दर्शक नल्याएको बताए। रोशनले भने, “जति दर्शक आउनुहुन्छ, स्वतःस्फूर्त टिकट काटेर आउनुभएको हो। फिल्मको चर्चा खासै भएन होला, तर फिल्मले ५१ औँ दिन पार गरेकोमा खुशी छौं।”
कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रबिन्द्र खड्कासहित अन्य फिल्मकर्मीहरूको सहभागिता थियो। फिल्मको टिम र सञ्चारकर्मीहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।
‘यो मन त मेरो नेपाली हो’ फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ। ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता ज्ञानबहादुर प्रधान र रोशन श्रेष्ठ हुन्। मित्र प्रधानले कथा तथा निर्देशन गरेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। ‘यो मन त मेरो नेपाली हो’ यसबेला अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भईरहेको छ।
यस्तै, ‘यो मन त मेरो नेपाली हो’ टिमले नयाँ फिल्म ‘स्वाहः’ निर्माणको घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो।
फिल्म ‘स्वाहः’लाई मित्र प्रधानले निर्माण तथा निर्देशन गर्नेछन्। शिवम अधिकारीले पटकथा तथा संवाद लेख्ने यस फिल्ममा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिँदैछन् भने अन्य कलाकारहरू छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। हिमाली भेगको कथामा आधारित यो फिल्म करिब ४ करोडको लगानीमा बन्ने भएको छ।
