आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ को बिहीबार तनहुँस्थित गलेश्वर मन्दिरमा विधिवत् शुभमुहूर्त गरिएको छ। करिब दुई सय जना बटुकहरूले हवनसहित पूजा–आर्चना गरी फिल्मको मुहूर्त गरेका थिए।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन सोही दिनदेखि चितवनबाट सुरु गरिएको छ। निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन तालिका करिब एक महिनाको रहने जानकारी दिएका छन्। उनका अनुसार चितवन, काठमाडौं र भारतको हैदरावादमा फिल्म खिचिनेछ।
फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन्। मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट, माओत्से गुरुङलगायतको उपस्थिति थियो।
निर्माण पक्षका अनुसार, ‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको छ।
फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। छायांकन निर्देशन (DOP) नवराज उप्रेतीले सम्हाल्ने छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहनेछन् भने मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुनेछन्।
फिल्म २०८२ फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। निर्माण पक्षका अनुसार, फिल्मको विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ। ती देशका लागि वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ भने नेपालमा वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।