गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ। रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजर बुढासुब्बा डिजिटलको युट्यूब च्यानलमा मात्रै हालसम्म १५ लाखभन्दा बढी पटक हेरिएको छ।
युट्यूबमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेन्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ। अन्य दर्जनबढि देशमा पनि यस फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ट’मा अग्र स्थान ओगटेको छ। विदेशमा देखिएको लोकप्रियताले अन्तर्राष्ट्रिय व्यापारका लागि सुखद संकेत दिएको छ।
युट्यूब, इन्स्टाग्राम र फेसबुक लगायत सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यु तथा रियाक्सन भिडियोमा फिल्मप्रति ‘बहुप्रतिक्षित’का शब्द व्यक्त भएका छन्। सगरमाथा आरोहणको कथा समेटिएको यस फिल्मका दृश्यहरू, कलाकारको अभिनय कला, ब्याकग्राउण्ड म्युजिक, भिएफएक्स लगायतका पक्ष दर्शकले उच्च प्रशंसा गरेका छन्।
सरोज न्यौपानेको प्रस्तुति र सुयोग गुरुङको निर्देशनमा तयार फिल्म ‘जेरी अन टप’ आगामी असोज ३१ गते प्रदर्शनमा आउनेछ।
फिल्ममा युवापुस्ताका चर्चित तथा सफल अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायत कलाकार मुख्य भूमिकामा छन्। अभिनेता अनमोल केसीले दर्शक र शुभचिन्तकबाट प्राप्त प्रेमप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
फिल्मको कथा हेमराज बिसीको हो। संगीतमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र बृजेश श्रेष्ठको योगदान रहेको छ। पटकथा विश्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको रहेको छ।
नेपालभित्र यस फिल्मको वितरण अधिकार रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्। महँगो लागत र फ्रन्टलाइन स्टारकास्ट समावेश *‘जेरी अन टप’*लाई यस वर्षको सबैभन्दा प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ।
