‘रिमै’ दयाले आश गरेको सिनेमा, ‘कबड्डी’सँग तुलना गर्नु हुनेछ भूल

0 Shares

आगामी शुक्रबार अर्थात् भदौ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’ टिम यतिबेला प्रचार–प्रसारमा व्यस्त छ।

यसैबीच केही दिनअघि फिल्मको निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली फिल्म उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन्। गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो फिल्म बलियो दस्तावेज हुने उनको भनाइ छ।

दयाहाङ भन्छन्, ‘अहिले त यो फिल्म बन्यो, अब प्रदर्शन हुन्छ। धेरैका लागि यो सामान्य प्रक्रिया हो। तर, यो फिल्म भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ। भोलिको पुस्ताले गुरुङ समुदायको अध्ययन गर्नुप¥यो भने यो एउटा महत्वपूर्ण स्रोत हुनेछ।’

उनले थपे, ‘फरक भूगोलमा बस्ने गुरुङ समुदायको फरक संस्कार र संस्कृति हुन्छ। गोरखा र लमजुङमा बोलिने गुरुङ भाषा नै केही फरक छ। गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायबारे बुझ्नुप¥यो भने यो फिल्म एउटा गतिलो दस्तावेज हुनेछ।’

‘रिमै’ को अर्थ छोरी–चेली भन्ने हो। तर, यसलाई अलि रुखो तरिकाले बुझ्दा तरुनी भन्ने पनि हुन्छ। त्यसैले गुरुङ समुदायमा कसैले केटीलाई जिस्काएर ‘रिमै’ भन्यो भने त्यसको अर्थ छोरी वा चेली नभई तरुनी भन्ने हुन्छ।

यस फिल्मकी ‘रिमै’ अर्थात् अभिनेत्री रिश्मा गुरुङका अनुसार उनीहरूको समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुन्छिन्। उनी भन्छिन्, ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ। तर हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ, तर छोरी अनिवार्य चाहिन्छ। छोरी नभएसम्म घरबाट लास उठाउन मिल्दैन।’

त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व धेरै हुने कुरा ‘रिमै’ मा देख्न सकिने रिश्माले बताइन्। गुरुङ समुदायको कथामा बनेको बलियो फिल्म भएकैले आफूले यसमा काम गरेको उनको भनाइ छ। रिश्मा गुरुङ भाषाकै फिल्मबाट मेनस्ट्रिममा आएकी कलाकार हुन्।

दयाहाङले विस्तारै विभिन्न समुदायका कथाहरू फिल्ममा आउन थालेको बताए।

उनले भने, ‘विभिन्न जाति र भूगोलका कथाले नै नेपाली फिल्मलाई समृद्ध बनाउँदै लैजान्छन्। रिमैले नेपाली फिल्ममा एउटा नयाँ आयाम ल्याएको छ। किनभने यसअघि गुरुङ भाषामा गुरुङका कथामा फिल्म बनेका छन्। तर नेपाली भाषामा मेनस्ट्रिम स्तरमा गुरुङ समुदायको कथामा आधारित फिल्म बनेको छैन।’

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति तथा रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतले अभिनय गरेका छन्।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन्। फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। कार्यकारी निर्माता वीरबल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता हुन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा रहेका छन्।

यस फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी. गुरुङ सम्पादक रहेका छन्।

सम्बन्धित समाचार

सबै