
काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा सोमबार राजधानीमा सम्पन्न पत्रकार सम्मेलनमा गरियो। थ्री प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा शोको नयाँ संरचना, सेटअप, र योजनाबारे जानकारी दिइयो।
निर्देशक तथा होस्ट विशाल भण्डारीले यसअघि प्रसारित ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गर्दै, यसलाई नयाँ स्वरूपमा दर्शकमाझ ल्याउन लागेको बताए। सगुन पाण्डे र हिरण बस्नेतसँगको सहकार्यमा शो निर्माण भइरहेको छ।
कार्यक्रममा हास्य प्रस्तुति दिने कलाकारहरूको लाइनअप पनि सार्वजनिक गरियो। यसपटक प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले दर्शकलाई हँसाउने छन् भने दीपाश्री निरौलाले अध्यक्षको भूमिका निभाउनेछिन्।
हाल शोको प्रसारण मिति औपचारिक रूपमा घोषणा गरिएको छैन। निर्देशक भण्डारीले शो चाँडै सुरु गर्ने तयारी भइरहेको भन्दै, यसको मिति छिट्टै सार्वजनिक गरिने बताए। कार्यक्रममा शोको ट्रेलर समेत प्रदर्शन गरिएको थियो।
शोकी अध्यक्ष दीपाश्री निरौलाले बिकाउनुभन्दा टिकाउनु मुख्य लक्ष्य रहेको बताउँदै, हास्यव्यंग्य मार्फत दर्शकलाई खुसी दिनु चुनौतीपूर्ण भए पनि दीर्घकालीन प्रभावलाई ध्यानमा राख्न आवश्यक रहेको उल्लेख गरिन्। उनले नयाँ पुस्तासँग धेरै सिकिरहेको अनुभव पनि व्यक्त गरिन्।
हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले शोको लुक एन्ड फिल, स्टुडियो सेटअप, स्क्रिप्टिङ र प्रस्तुतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन प्रयास भइरहेको बताए। ‘हामी नेपालमै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम बनाउन हरदम कोसिस गरिरहेका छौं,’ उनले भने। साथै, भविष्यमा दर्शकको रुचि अनुसार कार्यक्रममा विविधता थप्दै उनीहरूलाई अझ नजिक जोड्ने प्रयास गरिनेछ।
कँडेलले यो शो हिमालय टिभी र युट्युबको ओएसआर रियालिटी च्यानलमार्फत प्रसारण गरिने र लामो समयसम्म सहकार्यको तयारी रहेको बताए। निर्देशक भण्डारीका अनुसार, यसपटक शोलाई डेढ घण्टा लामो बनाइनेछ र ५२ एपिसोड तयार पारिनेछ।
कार्यक्रममा शोका लेखकहरू सन्तोष खनाल, सन्देश देवकोटा र रजनीश अर्याललाई पनि चिनाइएको थियो। उनीहरूले हास्य प्रस्तुतीलाई अझ प्रभावकारी बनाउने भूमिका निर्वाह गर्नेछन्।