सुरु भयो ‘कुमारी’को छायांकन, प्रतिक्षित ‘म्यूजिकल लभस्टोरी’ बन्ने अपेक्षा

0 Shares

 फिल्म ‘कुमारी’को छायांकन सुरु भएको छ।

मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा औपचारिक शुभ मुहूर्त गरिएको थियो, जहाँ फिल्मका मुख्य कलाकार, निर्देशक र निर्माण टोलीको उपस्थिति रहेको थियो।

दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’को छायांकन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायांकन ३५ दिनमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। यी दुईसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि घोषणा तथा पोस्टर सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको ‘कता छौ’ बोलको गीत चर्चामा आएको छ। यसै गीतमार्फत गायक लिम्बुले पार्श्व गायनमा डेब्यु गरेका हुन्।

‘कुमारी’मा संगीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन्।

निर्देशक राउतले ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथामा आधारित सफल फिल्म निर्देशन गरेपछि सामाजिक विषयमा आधारित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता फिल्म निर्देशन गरेका थिए। ‘कुमारी’मार्फत उनी फेरि प्रेमकथाको संसारमा फर्किएका छन्।

यस फिल्ममा छायांकन निर्देशन सुसन प्रजापतिको रहनेछ भने कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा र मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन्। फिल्मको अन-स्क्रिन कविता रिया अधिकारीले लेखेकी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। सुप्रिम पराजुलीले रङ्ग संयोजन, उत्तम न्यौपानेले साउन्ड डिजाइन र किरण थापाले कोरियोग्राफी गर्नेछन्।

सम्बन्धित समाचार

सबै