असोज १३ गते फूलपातीमा रिलिज हुन लागेको फिल्म माइतीघरको शीर्ष गीतमा आधारित नृत्य प्रतियोगितामा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ।
सोमबारबाट सुरु भएको यो प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता असोज १२ गतेसम्म जारी रहने निर्माणपक्षले जनाएको छ।
निर्माता रोहित अधिकारीका अनुसार, दर्शकहरूले २४ घण्टा नबित्दै असंख्य भिडियो बनाएर पठाएका छन्, जसले निर्माणपक्षलाई अचम्ममा पारेको छ। उनले भने, “दर्शकहरूको यो सहभागिताले हामीलाई निकै उत्साहित बनाएको छ। २४ घण्टा नबित्दै ओएसआर डिजिटलका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा १५–२० लाख भ्युज आइसकेका छन्।”
उनका अनुसार, यो उत्साहजनक सहभागिताले निर्माण टोलीलाई अझ ऊर्जा थपिएको छ। सुरुवातमा पहिलो हुनेलाई मात्र ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको थियो। तर अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने निर्णय भएको छ। साथै सहभागी हुने सबैलाई कुनै न कुनै किसिमको पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।
सञ्जिवनीको स्वरमा रहेको शीर्ष गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ। प्रतियोगितामा ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य गरेर बनाइएका भिडियोहरूमध्ये एक जनालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको छ।
गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने छायांकन मानकृष्ण महर्जन र सुशन प्रजापतिको रहेको छ। फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।
रोहित अधिकारीले भने, “कतिपय भिडियोमा दर्शकको मिहिनेत देख्दा हामी आफैं छक्क पर्छौं। भिडियोलाई उत्कृष्ट बनाउन दर्शकहरूले कुनै कसर बाँकी राखेका छैनन्।”
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय रहेको छ।
चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकले पटकथा र संवाद लेखेका हुन्। फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।