अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा गायक श्रीजन ताम्राकार निर्वाचित भएका छन्।
शनिबार अमेरिकाको पेन्सिलभेनिया राज्यमा भव्य रूपमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गायक ताम्राकार सन् २०२५/२०२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। उनी १९९० को दशकमा चर्चित नेपाली पप ब्याण्ड ‘ओकिली’का संस्थापक सदस्य तथा गायक हुन्।
उपाध्यक्षमा फिल्म निर्देशक गोपालचन्द्र लामिछाने, गायिका रीता श्रेष्ठ, कलाकार तथा तेक्वान्दो प्रशिक्षक विकास घले गुरुङ र गायक तथा संगीतकार लक्ष्मण पौडेल निर्वाचित भए।
प्रवक्तामा सञ्चारकर्मी तथा साहित्यकार प्रकाश नेपाल, महासचिवमा फोटोग्राफर तथा कार्यक्रम व्यवस्थापक दिलिप श्रेष्ठ, सचिवमा चिरञ्जिवी गुरागाईं, कोषाध्यक्षमा मोडल तथा नायक मनिष शर्मा र सह–कोषाध्यक्षमा नारायण खकुरेल निर्वाचित भए।
सदस्यहरूमा अनिल तिमल्सेना, अमिता लामा, राजेश श्रेष्ठ, राजु केसी, विनोद गिरी र सुशान मानन्धर निर्वाचित भए।
सल्लाहकारमा समाजसेवी श्याम कार्की, समाजसेवी तथा व्यवसायी अमर छन्त्याल, अभिनेता राजवल्लभ कोइराला र गायिका अञ्जना गुरुङ चयन भएका छन्।
विभिन्न राज्य समितिहरू पनि निर्वाचित भएका छन्। जसअनुसार, केन्टकी राज्य समितिको अध्यक्षमा सनातन रेग्मी, मेरिल्यान्डको अध्यक्षमा गायिका शान्ति भण्डारी, पेन्सिलभेनियाको अध्यक्षमा आलोक कार्की र भर्जिनियाको अध्यक्षमा विश्व पौडेल निर्वाचित भए। नयाँ स्थापना भएको न्यूजर्सी राज्य समितिको अध्यक्षमा नृत्य निर्देशक कबिना सिंह निर्वाचित भइन्।
प्रमुख अतिथि तथा इनास ग्लोबलका वरिष्ठ उपाध्यक्ष सबु गदाल कार्कीले सम्मेलनको शुभारम्भ गरेका थिए। उद्घाटन समारोहमा इनास ग्लोबलका सह–कोषाध्यक्ष कृष श्रेष्ठ, अमेरिका क्षेत्रीय संयोजक गायक कन्हैयासिंह परियार, अध्यक्ष राहुल केसी लगायतले मन्तव्य दिएका थिए।
त्यस अवसरमा अमेरिका भ्रमणमा रहेका फिल्म निर्देशक सुदर्शन थापा, स्थानीय सामाजिक संस्था ग्लोबल भुटनिज अर्गनाइजेसन, वरिष्ठ रचनाकार अगोम गुरुङ, भ्वाइ किड्स तेस्रो सिजन विजेता अन्हुया तामाङलाई सम्मान गरिएको थियो।
त्यस्तै, अमेरिकामा निर्माण भएको वेब–सिरिज घर बट इन अमेरिका को समूहलाई विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा सिनेटर जेबी जेनिङ्सको तर्फबाट फिल्म निर्देशक सुमन दाहाल, गायिका स्वरुपा रसाइली र प्रकाश नेपाललाई ‘साइटेसन’ प्रदान गरिएको थियो।
समारोहमा इन्ट्रा फाउन्डेसन (ह्यारिसबर्ग, लेनकास्टर समूह), भुटनिज किराँती राई अफ अमेरिका (ह्यारिसबर्ग ग्रुप), गुरुड कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग (आमा समूह), रेड ओसियन मल्टी एकेडेमी (कार्लाइल), टाक्स कराँते (ल्यानकास्टर) लगायतका संघ–संस्था, समुदाय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको उल्लेखनीय सहभागिता र आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो।
अध्यक्ष राहुल केसीले मन्तव्यसहित सन् २०२३/२०२५ कार्यसमितिलाई बिदाइ गर्दै नयाँ निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए।
नवनिर्वाचित अध्यक्ष ताम्राकारले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समर्पित रहने बताउँदै, अमेरिका भर छरिएका नेपाली कलाकारलाई संस्थामा सहजै जोड्ने वातावरण बनाउने घोषणा गरे। उनले अग्रजको सम्मान र नवप्रतिभाको प्रोत्साहनलाई प्राथमिकतामा राख्दै इनासको महाअभियानलाई विस्तार गर्ने प्रतिबद्धता जनाए।
यस अधिवेशनको पहिलो चरणको औपचारिक कार्यक्रम प्रकाश नेपालले सञ्चालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको सञ्चालन सन्देश कुमार खडकाले गरेका थिए।