‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

0 Shares

आगामी शुक्रबार अर्थात् भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म रिमैको दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर रहेको छ।

गीतमा थानेश्वर गौतमकै संगीत, कवि श्रवण मुकारुङको शब्दरचना र नारायण दंगलको एरेञ्ज छ। सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका विभिन्न दृश्यहरू समेटिएका छन्। यो गीतले फिल्मप्रति दर्शकमाझ थप उत्साह पैदा गर्ने देखिन्छ। यसअघि सार्वजनिक भएका गीत, पोस्टर, टिजर र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलेसकेका छन्।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति तथा रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ तथा बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेको पटकथामा आधारित फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। कार्यकारी निर्माता वीरबल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता रहेका छन्। सह–निर्मातामा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे छन्।

खिल बहादुर गुरुङले निर्देशन गरेको यस फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादक रहेका छन्। फिल्म आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै