राजेन्द्र बस्नेतको निर्देशनमा बनेको सिनेमा *‘प्रेमगीता’*को टिजर सार्वजनिक भएको छ। मंगलबार सिनेमाको निर्माण टिमले १ मिनेट ११ सेकेन्ड लामो टिजर रिलिज गरेको हो। टिजरमा मुख्य कलाकार जाह्नवी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायत देखिएका छन्।
टिजरमा प्रेमकथा, बिछोड र एक्सनका दृश्य प्रस्तुत गरिएको छ। समसामयिक कथामा आधारित यस टिजरले कथाभित्र केही रहस्य लुकेको आभास दिन खोजेको छ। विशेषगरी, प्रेमपछि हुने बिछोडलाई मुख्य विषयवस्तु बनाइएको जस्तो देखिन्छ।
ग्रीन प्यारोट्स फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा बनेको यस सिनेमामा आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीप्शन लिम्बु, मौसम खड्का र ममता माझीको पनि अभिनय छ।
साजिद खान प्रस्तुतकर्ता र अयाज अली खान निर्माता रहेका यस सिनेमामा विनयराज पौडेल मुख्य सहायक निर्देशक हुन्। मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईंको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफी छ।
निर्देशक राजेन्द्र बस्नेतले यो सिनेमामार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। ‘प्रेमगीता’ आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।