‘वरिष्ठ बलराम’ का दुई पोस्टर र टिजरमा दयाहाङ राई र विजय बरालको नोकझोक

0 Shares

 सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्म वरिष्ठ बलराम को फर्स्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले एकैसाथ दुईवटा पोस्टर र पहिलो झलक प्रस्तुत गरेको हो।

पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले प्रमुख स्थान पाएका छन्, भने अन्य कलाकारहरू पनि फिचर्ड छन्।

एउटा पोस्टरमा दयाहाङ र विजय मात्र देखिन्छन्। रातो सुट र सर्ट–पाइन्टमा सजिएका दयाहाङ हातमा मोबाइल बोकेर क्रुद्ध मुद्रामा देखिएका छन् भने विजय निरास मुद्रामा छन्।

दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न देखिन्छन्। यसमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरीलाई पनि क्यारेक्टर लुकमा देखाइएको छ।

पोस्टरहरूले कथाप्रति कौतुहलता सिर्जना गरे पनि कथा भने खुलाइएको छैन। सार्वजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बरालबीचको नोकझोक प्रस्तुत गरिएको छ, जसले फिल्मप्रति उत्सुकता बढाएको छ।

वरिष्ठ बलराम कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ। हाल पोस्ट–प्रोडक्सनमा रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायतका कलाकारहरूको अभिनय छ।

यो सुरेन्द्र पौडेलको चौथो निर्देशन हो। दृश्य सम्पादकसमेत रहेका पौडेलले यसअघि आभाष, क्रृबाबरी निर्देशन गरेका छन्। पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।

वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन्। कार्यकारी निर्मातामा प्रदीप जी. धामी र पुस्कर बी. घिमिरे छन्।

सामाजिक कथावस्तुमा आधारित यस फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो। मानकृष्ण महर्जनले छायांकन गरेका हुन्। फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको कोरियोग्राफी छ।

फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएनले र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै