कृषाको नयाँ सिनेमा ‘पारस’

0 Shares

निर्देशक कृषा चौलागाईंको जन्मदिनको अवसर पारेर फिल्म पारस निर्माणको घोषणा गरिएको छ। बुधबार आयोजित कार्यक्रममा फिल्मको घोषणा गरिएको हो। कथा र निर्देशन स्वयं कृषाकै रहनेछ।

उनकै भाई विशाल चौलागाईंको लगानीमा बन्ने यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षका अनुसार फिल्मको डीओपी पुरुषोत्तम प्रधान हुनेछन्। यसअघि कृषा र पुरुषोत्तमले ऐचो पैचोपिताम्बरमा सहकार्य गरेका थिए। यो उनीहरूको तेस्रो सहकार्य हो। निर्माता विशालको पनि यो टिमसँग तेस्रो सहकार्य नै हो।

केपी फिल्म्सको ब्यानरमा बन्ने फिल्म फागुनबाट छायांकनमा जानेछ। बुधबार साँझ कालोपुलस्थित पार्टी प्यालेसमा भएको कार्यक्रममा निर्देशक कृषाले फिल्म एक्सन र लभस्टोरी मिश्रित हुने बताइन्।

पारस को बारेमा भन्नुपर्दा, पहिलो पटक नेपालमा आएर सचिन लदियाले लेखन सुरु गर्नुभएको हो। यही नै अहिले जानकारी दिन मिल्ने कुरा हो,’ निर्देशक कृषाले भनिन्, ‘पछि फेरि भेट्ने बहाना हुँदैन।’ उनले कलाकार तथा प्राविधिक पक्षबारे क्रमशः जानकारी दिइने जनाइन्।

कृषाले थपिन्, ‘यो फिल्मलाई पुरुषोत्तम दाइले खिच्दै हुनुहुन्छ र मैले निर्देशन गर्दैछु।’ निर्माता विशाल चौलागाईंले दिदीको जन्मदिनमै फिल्म निर्माणको घोषणा गर्ने योजना बनाएको बताए।

उनले पिताम्बर मा भएका कमजोरी पारसमा सुधारिने पनि उल्लेख गरे। ‘अघिल्लो वर्ष उहाँलाई (कृषालाई) गिफ्ट दिएको थियो। सुटिङकै बीचमा पनि हामीले जन्मदिन सेलेब्रेट गरेका थियौं। सबैलाई थाहा छ त्यो अनुभव कस्तो थियो,’ उनले भने।

सोही कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामना दिँदै नयाँ फिल्मका लागि पनि बधाई दिए। निर्माण पक्षले भने फिल्मको रिलिज मिति घोषणा गरेको छैन। कृषाको पहिलो निर्देशकीय फिल्म ऐचो पैचो हो, जसलाई समीक्षात्मक रूपमा सफल मानिएको थियो।

सम्बन्धित समाचार

सबै