आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म मैझारो का दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका यी पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरेको हो।
पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य प्रस्तुत गरेका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।
दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनलाई नियाल्दैछन्, जसबाट उनीहरूको प्रेम सम्बन्ध प्रस्ट देखिन्छ।
विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्ध उजागर गर्ने प्रयास गरिएको छ।
फिल्ममा धिरज, मिरुना र दिया पुनसँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु को अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। गीतहरूमा मित्र डी गुरुङको सम्पादन, राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर समावेश छन्।
फिल्मको छायांकन सौरभ लामाले गरेका छन्। वितरण अधिकार आरआर फिल्म ले लिएको छ भने डिजिटल स्ट्रिमिङ अधिकार ओएसआर ले खरिद गरेको छ। यस फिल्ममार्फत कलाकार विल्सन विक्रम राई पहिलो पटक लेखन तथा निर्देशनमा प्रस्तुत हुँदैछन्। उनले यसअघि पनि ‘तक्मे प्रोडक्सन’ बाट फिल्म निर्माण गरिसकेका छन्।

