चलचित्र हरिबहादुरको जुत्ता आगामी दशैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउने तयारीमा छ।
हरिवंश आचार्यको टेलिभिजनमा सर्वाधिक लोकप्रिय पात्र हरिबहादुर अब ठूलो पर्दामा आउने भएका छन्। यो पात्रसँग हरेक जेनेरेसनका दर्शक परिचित छन्। त्यसैले पनि यस चलचित्रप्रति दर्शकमा उत्साह रहेको छ।
रमाइलो र पारिवारिक विषयवस्तु भएकाले दशैँको माहोलमा दर्शकले यसलाई रुचाउने अनुमान छ।
सार्वजनिक प्रचार सामग्रीप्रति दर्शकले देखाएको मायाले पनि चलचित्रप्रति चासो बढाएको छ। पोस्टर, गीत र टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्।
सामाजिक संजालमा चलचित्रका गीतका क्लिपहरू भाइरल भएका छन्।
२ हप्ता अघि सार्वजनिक गीत ‘बेला बितेसी’ युट्युबमा २६ लाख बढी पटक हेरिएको छ भने २ लाख ५० हजार टिकटक भिडियो बनेका छन्।
अर्को गीत ‘ढाका टोपी शिरैमा’ ३ दिनमा १० लाखभन्दा बढी पटक हेरिएको छ।
यसले चलचित्रलाई धेरै दर्शक माझ पुर्याउन सफल भएको छ।
चलचित्र चल्ने आधार केवल यी मात्र होइन। चलचित्रको टिम पनि बलियो छ।
हरिवंश आचार्यले लेखेको चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ। कलाकारहरूको बलियो उपस्थितिले पनि चलचित्रप्रति दर्शकको विश्वास बढ्ने पक्का छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्।
छायांकन: कृष्ण बहादुर थापा, सम्पादन: नकुल खड्का।
संगीत: वसन्त सापकोटा, दीपक शर्मा, प्रकाश सपुत, स्वर: आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल, सज्जा चौलागाई।