‘जारी २ : सङ अफ च्याब्रुङ’ अब कार्तिक ६ गते रिलिज, नयाँ पोस्टर सार्वजनिक

0 Shares

असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। जेन–जी पुस्ताको आन्दोलनका कारण प्रचार–प्रसारको लागि पर्याप्त समय नपाएकोले फिल्मको रिलिज स्थगित गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताएका छन्।

फिल्मको निर्माण टिमले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकाको दिनलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्मको पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। उनीहरूलाई परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देखाइएको छ।

दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ र विजय बराललाई अटाइएको छ। यी पोस्टरहरूले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको महत्त्वपूर्ण पाटो वरिपरि फिल्मले कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यस फिल्मका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङसँगै ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुका भूमिका रहेका छन्।

कवि सुब्बाको डेब्यु निर्देशन ‘जारी’ सन् २०८० सालको ब्लकबस्टर फिल्म हो, जसले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो। त्यसैले ‘जारी २’ निर्माण घोषणा भएदेखि नै प्रतिक्षित फिल्मको सूचीमा रहेको छ।

सम्बन्धित समाचार

सबै