‘कान्तारा-२’लाई शो दिन क्यूएफएक्सले ‘अभिमन्यू : च्याप्टर-१’ नचलाउने, बालेनसम्म गुहार्ने तयारीमा निर्माता

0 Shares

जेन्-जी आन्दोलनका कारण अभिमन्यू : च्याप्टर-१जारी-२ आफ्नो पूर्वनिर्धारित रिलिज मितिमा प्रदर्शन हुन सकेनन्।

पूर्वनिर्धारित मिति स्थगित भएपछि अभिमन्यूले फूलपातीमा रिलिज हुने घोषणा गर्‍यो। तर क्यूएफएक्स चेनले उक्त मितिमा फिल्मको शो उपलब्ध गराउने निषेध नीति अख्तियार गरेको छ। क्यूएफएक्सले अभिमन्यूलाई घटस्थापना वा अन्य मितिमा प्रदर्शन गर्न दबाब दिइरहेको छ।

फिल्मको वितरण अधिकार **डिजिटल सिनेमा नेपाल (डीएसएन)**सँग छ। डीएसएनमा क्यूएफएक्स हल चेनका साझेदारहरू पनि पार्टनरका रूपमा रहेका छन्।

हाल १२ वटा फिल्मलाई स्लट उपलब्ध गराएको क्यूएफएक्सले आफ्ना साझेदारको स्वामित्व रहेको एप्पल इन्टरटेन्मेन्टले कान्तारा-२ प्रदर्शन गर्ने भएपछि यस प्रकारको नीति अपनाएको बुझिन्छ। कान्तारा-२को ३ घण्टा रनटाइम र महँगो लागतका कारण पर्याप्त शो आवश्यक छ, जसको दबाब वितरक कम्पनीमार्फत अभिमन्यूमा परेको छ।

अहिलेसम्म क्यूएफएक्सले आफ्नो साइटमा अभिमन्यूको “कमिङ सून” पोस्टर राखेको छैन, जबकि सोही मितिमा आउने अन्य फिल्महरूको पोस्टर राखिएको छ।

जबकी यसअघि अभिमन्यूको पूर्वनिर्धारित रिलिज मितिका लागि क्यूएफएक्स हल पार्टनर पनि थियो।

फिल्मका निर्माता विनोद पौडेलले आफ्नो फेसबुक पेजमा असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्:
“फूलपातीमा ३ वटा ठूला फिल्म छ, तपाईँको चलचित्रलाई शो दिन सकिँदैन, अर्कै डेटमा लगाउनुस् र #अभिमन्यु लाई ‘coming soon’ मा पनि लिस्ट गर्न सकिँदैन भन्ने भइदियो भने, तिहारमा के हुने हो? हाम्रो टीमलाई हेपेर हैरान भएको छ। सबै सिनेमाघर होइन, धेरैजसोले यस्तै गरिरहेको छ। फिल्म ठूला वा साना चलेपछि मात्रै थाहा हुन्छ।”

प्राप्त जानकारीअनुसार, जेन्-जी आन्दोलन नभएको भए नेपाली वितरक कान्तारा-२ महँगो रकम तिरेर नेपाल ल्याउन उदासिन थिए। तर जेन्-जी आन्दोलनले तालिका प्रभावित भएपछि उनीहरू उत्साहित भए।

त्यसैबीच, एप्पलका साझेदारहरूले पहिले विदेशी फिल्म प्रदर्शन गर्दा किचलो हुने आरोप उठाउँदै कान्तारा-२ नल्याउने निर्णय गरेका थिए।

हाल क्यूएफएक्स चेनमा ७ वटा फिल्म प्रदर्शनमा रहेका छन्। एक फिल्मकर्मीले भने, “यदि कुनै चर्चित विदेशी फिल्म भएको भए यस्तो अवरोध आउँदैन र स्लट पाउँथ्यो।”

आफ्नो सिनेमा प्रतिको यो रवैयाको कडा प्रतिकार गर्ने तयारीमा ‘अभिमन्यू’का निर्माता रहेको बताइन्छ । उनले यसका लागि चलचित्र सम्बन्ध संघसमंस्था, नेपाल सरकारको वाणिज्य विभागदेखि काठमाण्डौं महानगर पालिकाका मेयर बालेनसम्म गुहार्ने तयारी गरेका छन ् ।

देशको ठूलो हल चेन भन्दै गर्व गर्ने क्यूएफएक्सले यस्तो दबाब पहिलोपटक गरेको होइन। यसअघि परदेशी नामक फिल्मलाई मल्टिप्लेक्स नभएको भन्दै प्रदर्शन गर्न दिइएन। सोही मितिमा चार वटा नेपाली फिल्म रिलिज भएका थिए, जसमा परदेशी ब्लकबस्टर भए पनि अन्य तीन फिल्म फ्लप भएका थिए।

त्यसपछि वितरकले परदेशीलाई रिलिज गराउन खोज्दा क्यूएफएक्सले फिल्म उपलब्ध गराएन र खाली हलमा मात्रै दशैँ कटाएको थियो।

सम्बन्धित समाचार

सबै