जेन्–जी आन्दोलनका कारण असोज ३ गतेको रिलिज स्थगित भएको ‘जारी–२’ अब कार्तिक २१ गते रिलिज हुने भएको छ। यसअघि निर्माण टिमले कार्तिक ६ गते रिलिज हुने बताएको थियो।
सिनेमाको निर्माण टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको यस सिनेमाको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर मात्र प्रस्तुत गरिएको छ। दुवैलाई परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देखाइएको छ।
दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ र विजय बराललाई पनि देख्न सकिन्छ।
यी पोस्टरहरूले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको सेरोफेरोमा आधारित कथावस्तु प्रस्तुत गर्ने संकेत गरेका छन्।
‘बाँसुरी फिल्मस्’ र ‘कबड्डी फिल्मस्’को ब्यानरमा बनेको यस सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।
बुधबार साँझ पोस्टर सेयर गर्दै निर्माता रामबाबु गुरुङले ‘जारी–२’ को नयाँ मिति सबै पक्षसँगको छलफलपछि तय गरिएको जानकारी दिए।
कवि सुब्बाको निर्देशनमा बनेको पहिलो सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर बनेको थियो। सो वर्ष उक्त सिनेमाले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो। त्यसैले घोषणा भएको दिनदेखि नै ‘जारी–२’ प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ। यसपटक पनि यसले आफ्नो सफल व्यापारिक इतिहासलाई दोहोर्याउने बलियो अपेक्षा गरिएको छ।

