दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
बिहीबार सार्वजनिक गरिएको फर्स्टलुकसँगै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा पनि गरिएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी र अञ्जना बराईलीलाई देखाइएको छ। दुवैलाई एकअर्काको अंगालोमा प्रस्तुत गरिएको छ भने अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरूलाई विवाहित जोडीको रूपमा संकेत गर्छ। तर, निर्माण पक्षले यसबारे खुलासा गरेको छैन।
पोस्टरमा महेश केही गम्भीर मुद्रामा देखिएका छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आँखामा देखिएको गम्भीरताले सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने संकेत दिन्छ।
फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउँछ।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापन भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ले फिल्म निर्माण गरेको हो। बाइस्कोपको एकल ब्यानरमा बनेको पहिलो प्रोजेक्टको रूपमा ‘परान’ प्रस्तुत गरिएको प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथै, महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायतको अभिनय रहेको छ।
दीपक आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्। निर्देशक आचार्यका अनुसार पोस्ट–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ र अब फिल्मको प्रचारप्रसार तीव्र रूपमा अघि बढाइनेछ।
रिदम कंडेलको संगीत रहेको यस फिल्ममा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठले छायांकन गरेका फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन्। ‘परान’ यस वर्षको दसैं र तिहारलगत्तै कार्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
