नेपालको ओस्कार छनौट समिति पैसामा बिकेको समुन्द्रको आरोप, भनिन्– मागेको भए १० लाख मैं दिन्थेँ

0 Shares

नेपालबाट ९८औं एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा ‘अञ्जिला’ छनोट भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले यो सिनेमा छनोट गरेको हो।

यसपटक नेपालबाट यो दौडका लागि ‘अञ्जिला’सँगै समुन्द्र भट्ट निर्देशित गुन्यू चोलो पनि प्रतिस्पर्धामा थियो।

‘अञ्जिला’ छनोट भएपछि गुन्यू चोलो की निर्देशक समुन्द्र भट्टले फेसबुकमा स्टाटस लेख्दै नेपालको ओस्कार छनौट समिति पैसामा बिकेको आरोप लगाएकी छन्।

उनले यससँगै पैसा नै चाहिएको भए आफू १०–१० लाख घुस दिन तयार रहेको समेत उल्लेख गरेकी छन्।

“सायद मलाई चिनेको जस्तो छैन Oscar कमिटीले। मसँग मागेको भए १–१ लाख होइन, म त हरेकलाई १०–१० लाखै दिन्थेँ नि, हाहाहा… कति हाँस्नु,” समुन्द्रले फेसबुकमा लेखेकी छन्।

त्यसैगरी उनले ओस्कार छनौट समिति पैसामा बिक्नु दुःखद र अपमानजनक भएको टिप्पणी गरेकी छन्।

“देशको प्रतिनिधित्व गर्ने जस्तो संवेदनशील र गौरवमयी अवसरलाई समेत पैसामा बेचिनु केवल दुःखद मात्र होइन, अपमानजनक पनि हो।”

उनले लगाएको यो संगीन आरोपबारे ओस्कार छनौट समितिले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

गुन्यू चोलो हाल नेपाली सिनेमा घरमा प्रदर्शनरत छ।

यस्तो छ उनले लेखेको फेसबुक स्टाटस

यो देशमै बसेर नयाँ विषयवस्तुमा काम गर्ने, आफ्नै सिर्जनाले अन्तर्राष्ट्रिय स्तरमा देशलाई प्रतिनिधित्व गर्ने सपना बोकेर हिँड्नु आजभोलि असम्भवजस्तो लाग्न थालेको छ। हामीले Oscar को लागि भनेर रातदिन खटेर गरेको मिहिनेत पैसाको खेलले ओझेल पारिदिएको देख्दा मन अत्यन्त पीडित हुन्छ।

हिजोमात्रै हाम्रो युवा पुस्ताले ‘भ्रष्टाचार नहोस्’ भन्दै आफ्नै जीवन बलिदान दिनुपरेको देश हो यो। आज फेरि त्यही अवस्थाको पुनरावृत्ति भइरहेको महसुस हुन्छ। पैसा भए अवसर किनबेच हुने, पैसा भए सिर्जना नै दबिने यस्तो संस्कृतिले हामीजस्ता सिर्जनशील श्रमिकहरूको पीडा कसले बुझ्ने?

अघिल्लो पटक पनि मेरो नियुक्ति केवल राजनीतिक स्वार्थका कारण खारेज गरिएको थियो। आज फेरि देशको प्रतिनिधित्व गर्ने जस्तो संवेदनशील र गौरवमयी अवसरलाई समेत पैसामा बेचिनु केवल दुःखद मात्र होइन, अपमानजनक पनि हो।

फिल्मलाई, सिर्जनालाई, र न्याय दिने निर्णायकहरूलाई कसको मातहतमा राख्ने?
कसरी निष्पक्षता सुनिश्चित गर्ने?
हाम्रो आवाजलाई अन्ततः कसले सुन्ने?

यो प्रश्न व्यक्तिगत मात्र होइन, सम्पूर्ण नेपाली सिर्जनशील जगतकै सामूहिक चिन्ता हो।

“सायद मलाई चिनेको जस्तो छैन Oscar कमिटीले। मसँग मागेको भए १–१ लाख होइन, म त हरेकलाई १०–१० लाखै दिन्थेँ नि, हाहाहा… कति हाँस्नु।”

#oscarrepresentfromnepal @highlight

सम्बन्धित समाचार

सबै