
नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षित मानिएको फिल्म ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमा चर्को उत्सुकता जगाइसकेको यस फिल्मले ट्रेलरमार्फत अझ व्यापक चर्चा बटुलेको छ।
ट्रेलरको सुरुवातमा एक आमा छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन माग्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।
यसपछि दर्शकले प्रतिक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन् – “मेरो शरीरको एक–एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।” यो संवादसँगै उनी तीव्र गतिमा शक्तिशाली एक्सनमा उत्रिन्छन्। उनका लडाइँका दृश्यहरू यति प्रभावशाली छन् कि लाग्छ, उनले सम्पूर्ण शक्ति पर्दामा पोखिदिएका छन्।
ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक–फरक अवतारमा प्रस्तुत भएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा उठेको छ। कहिलेकाहीँ समीरले दर्जनौँ खलनायकहरूसँग एक्लै जुझ्ने दृश्य देखिन्छ, जसले दर्शकलाई जिरिङ्ग पार्छ। छायांकन, संवाद र ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्चतम विन्दुमा पुर्याएको छ।
यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको दमदार संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा प्रस्तुत भएका दृश्यले टिजरलाई अझ आकर्षक बनाएको थियो।
ट्रेलरसम्म आइपुग्दा, फिल्म *‘बलिदान’*लाई नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली फिल्मका रूपमा हेरिएको छ। निर्देशक सेनले यसअघि नै *‘बलिदान’*लाई केवल फिल्म नभई प्रत्येक नेपालीको मनमा बसिरहेको विद्रोहको प्रतीक भएको बताएका थिए।
यसबीचमा, फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक भइसकेको छ। सुजन चापागाईँको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार यो गीतले जनमानसमा लोकप्रियता पाइरहेको छ।
आसुसेन फिल्म्स प्रा.लि. को व्यानरमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
यस वर्षको बडादसैंको फूलपाती (असोज १३ गते) प्रदर्शनमा आउने ‘बलिदान’ नेपाली फिल्मको इतिहासमा एक साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।