
फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ।
दशैँको फूलपातीमा रिलिज हुने तयारीमा रहेको, यो वर्षको प्रतिक्षित फिल्मको रूपमा हेरिएको उक्त फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो।
दिपेन्द्र के. खनाल निर्देशित फिल्मको ट्रेलरले कमेडी भाव प्रस्तुत गर्दै, अहिलेको समसामयिक राजनीतिक विषयलाई समेत समेटेको छ।
हरिवंश आचार्य फिल्ममा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजन पर्दामा सर्वाधिक सफल मानिएको यो पात्रको जीवनमा आउने उतारचढावलाई फिल्मको ट्रेलरमा समावेश गरिएको छ।
त्यससँगै युवापुस्ताले खोजेको राजनीतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाई पनि ट्रेलरमा देखाइएको छ।
दिपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउनेछ।
एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।
कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्।
बसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश गरिएको छ।