फेरि सर्‍यो ‘अभिमन्यु : च्याप्टर १’, अब असोज २४ गते हिन्दी र नेपालीमा एकसाथ

0 Shares

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सारिएको छ। असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो। असोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ।

यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ,
“हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ‘अभिमन्यु : Chapter 1’ देशमा भएको Gen-Z आन्दोलनका कारण स्थगित गर्नु परेको थियो। तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै चलचित्रहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरूलाई समेत असर पार्ने अवस्था देखियो। यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गतेलाई चलचित्रको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ। यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउँछौँ। तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै, यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सञ्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।”

यस पटक फिल्मले सोलो रिलिजको अवसर पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्। यसमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् भने कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्। लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

शरद महतोको डिओपी रहेको चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, र मदन घिमिरेको सम्पादन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’ नेपाली संस्करणसँगै हिन्दीमा पनि असोज २४ गतेदेखि भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने भएकाले यसलाई नेपाली सिनेमाका लागि ठूलो अवसरका रूपमा लिइएको छ।

सम्बन्धित समाचार

सबै