
दिव्याशी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ को पोस्टर सार्वजनिक गरिएको छ।
निर्माण टिमले सोमबार पहिलो पोस्टर रिलिज गर्दै माघ ९ (जनवरी २३) बाट प्रदर्शन हुने मिति घोषणा गरेको हो।
पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ, जहाँ आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिसिएको कथामा, परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ।
ब्याकग्राउण्डमा केही नेता जस्ता पात्रहरूलाई रोक्ने वा सम्झाइरहेको दृश्य देखिन्छ, जसले देशको सीमाना वा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयलाई फिल्मले छुन सक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, वास्तविक कथावस्तु थाहा पाउन टिजर र ट्रेलर पर्खनुपर्ने हुन्छ।
अभिनेता सुशीलको यसअघि भन्दा अझ प्रभावशाली एक्सन यस फिल्ममा रहेको बुझिन्छ। एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन्, जसको काम अघिल्ला फिल्मभन्दा पृथक देखिन्छ। पोस्टरले नै उनले कति मेहनत गरेका छन् भन्ने संकेत दिन्छ।
फिल्मलाई विजय केरुङले निर्देशन गरेका छन् भने कथा तथा निर्माण दीपक सिवाकोटीको हो। फिल्ममा सुशील श्रेष्ठसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, र गौतम तिवारीलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने ब्याकग्राउण्ड स्कोर बलिउडका कालाचरणको छ। सह–सम्पादन उमेश थापाले, एसोसिएट निर्देशन नवराज शर्माले, र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।
निर्माण पक्षका अनुसार कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। डिओपी शिव ढकाल र सम्पादक बन्दे प्रसाद रहेका छन्। प्रोडक्सनको जिम्मा अरुण रेग्मीले लिएका छन्। फिल्मको डिजिटल पार्टनर OSR र वितरण RR Films ले गर्ने भएका छन्।