इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुँदै

0 Shares

 भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। दक्षिण भारतीय निर्माताको संलग्नतासहित नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा हेरिएको छ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको औपचारिक घोषणा आज घटस्थापनाको दिन गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको हो।

चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्। ठूलो बजेटमा तयार हुन लागेको यस प्रोजेक्टमा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली सहभागी हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ। यसअघि ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यस फिल्मलाई २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना बनाइएको छ।

सार्वजनिक गरिएको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत गरेको छ। प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने कथावस्तु फिल्ममा प्रस्तुत गरिने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

सबै