
दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्म ‘परान’ को नयाँ पोस्टर सोमबार सार्वजनिक गरिएको छ।
यस पोस्टरमा दिग्गज अभिनेता नीर शाहलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
यसअघि महेश त्रिपाठी र अञ्जना बराइलीलाई केन्द्रमा राखी पोस्टर सार्वजनिक गरिएकोमा, यसपटक नीर शाहलाई मात्र देखाइएको छ। पोस्टरमा उनी शंख फुक्दै गरेको दृश्य देखिन्छ, जसले उनको अनुहारमा गम्भीरता र अनुभवको गहिरो छाप झल्काउँछ।
यसले फिल्मको कथावस्तु धर्म, संस्कृति वा परम्परागत रीतिरिवाजसँग सम्बन्धित हुन सक्ने संकेत दिएको छ। पोस्टर सार्वजनिक भएसँगै नीर शाहको भूमिकाबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।
यद्यपि निर्माणपक्षले अझै कथावस्तु गोप्य राखेको छ। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ हो, जसले आपसी साथ र सम्बन्धको महत्वलाई जोड दिन्छ।
फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई अन्वेषण गर्ने सम्भावना देखिन्छ। नीर शाहजस्तो अनुभवी कलाकारको केन्द्रीय भूमिकाले फिल्मलाई सशक्त कथा र उत्कृष्ट अभिनययुक्त बनाउने अपेक्षा गरिएको छ।
देशकै प्रतिष्ठित गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालि मार्फत यो फिल्म निर्माण गरिएको हो। यो बाइस्कोप सिनेमाको पहिलो एकल प्रोजेक्ट हो।
दीपक आचार्यको कथा र यम थापाको पटकथा तथा संवादमा बनेको फिल्ममा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।
फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको सङ्गीत छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्। शिवराम श्रेष्ठले छायांकन (DOP) गरेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरेका हुन्। कोरियोग्राफी सुनिल क्षेत्रीको रहेको छ।
फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्। ‘परान’ कार्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। साथै निर्माण टिमले आउँदो फूलपातीको अघिल्लो दिन आइतबार फिल्मको एक गीत सार्वजनिक गर्ने तयारी गरेको छ।