‘मैझारो’को टिजर रिलिज, तक्मेको निर्देशनले उचाई छुने संकेत

0 Shares

आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मैझारो’ को टिजर सोमबार बडादसैंको घटस्थापनाको अवसरमा सार्वजनिक गरिएको छ। रिलिज गरिएको टिजरको समय १ मिनेट ५८ सेकेण्ड छ।

सार्वजनिक टिजरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामको ग्रामीण परिवेश र चिया बगानमा आधारित दृश्यमा धिरज र मिरुना मगरलाई क्रमशः प्रदर्शन गरिएको छ। मिरुना ढोको बोकी चिया पत्ती टिप्दै गरेको देखिन्छ, जसले उनको कामको भित्री कथा झल्काउँछ। टिजरमा धिरज र मिरुनाको प्रेम देखिन्छ, तर कुनै बाध्यताका कारण धिरज दिया पुनसँग नजिक देखिएका छन्।

धेरै दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई) कमेडी शैलीको फिल्म बनाउने अनुमान गरेको भए पनि, टिजरले स्पष्ट पारेको छ कि यो फिल्म कमेडी भन्दा फरक, मौलिक प्रेमकथामा आधारित छ। किराती प्रेम कथामा आधारित भावनात्मक सम्बन्धहरूले फिल्मलाई नेपाली माटोको कथा प्रस्तुत गर्ने क्षमता देखाउँछ। निर्देशक राईको काम टिजरसम्म उत्कृष्ट देखिन्छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित *‘मैझारो’*लाई निर्देशक विल्सन विक्रम राईकै कथामा निर्माण गरिएको हो। फिल्ममा धिरज, मिरुना, दिया, दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पाहाङ राईले दिएका छन्।

राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीको स्वरमा गीत समावेश छन्। छायांकन सौरभ लामाले गरेका हुन्। फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

सम्बन्धित समाचार

सबै