‘माग्ने बुढा’लाई चुनौती दिने को?

0 Shares

असोज १३ गते फूलपातीमा ‘माइतीघर’ फिल्म रिलिज हुँदैछ। यस वर्ष राम्रो व्यापार गर्न सक्ने सम्भावित फिल्मको सूचीमा यसलाई राखिएको छ। फिल्म यतिबेला आफ्नो प्रचार–प्रसारलाई कुनै ठाउँ बाँकी नराख्ने गरी क्रियाशील बनेको छ।

फिल्ममा धिरज मगर, प्रकाश सपुत र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा छन्। यससँगै अर्का कलाकार केदार घिमिरे उर्फ ‘माग्ने बुढा’, जो भर्खरै ‘माग्ने राजा’बाट दर्शकलाई आफू तिर केन्द्रित गर्न सफल भएका थिए, यस फिल्ममा महत्वपूर्ण भूमिकामा छन्।

फिल्मका प्रचार सामाग्री हेर्दा उनी पर्दामा आफ्नो प्रसिद्धिको पर्याय ‘माग्ने बुढा’कै शैलीमा प्रस्तुत हुँदैछन्। उनी लगभग सबै फिल्ममा यही स्वरुपमा देखिदैं आइरहेका छन्। यस्तोमा हामीले उही पात्र किन दोहोर्याइँदै आएको हो? भन्ने प्रश्न गरेका थियौं।

जवाफमा माग्नेले आफूलाई यस भूमिकाबाट निकाल्ने मेकरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन्।

‘वास्तवमा म केही फरक गर्न चाहन्छु, तर निर्माताहरू पनि त्यो चिज किन्न तयार हुनुपर्‍यो नि त?’, उनले भने, ‘उहाँहरूले जे किन्नु हुन्छ मैले त्यही बेच्ने हो। म फेरि त्यस्तो खास क्षमता भएको कलाकार पनि होइन, सामान्य नै हुँ। मलाई जे आउँछ, त्यही किनिरहनुभएको छ। नढाँटी भन्नुपर्दा म पनि त्यही बेचिरहेको छु।’

त्यसैगरी उनले आफूलाई विश्वास गरिदिए जारी ‘स्टेरियोटाइप’लाई परिवर्तन गर्न तयार रहेको बताए। अब हेरौं, ‘माग्ने बुढा’माथि कुन बहादुरले आगामी दिनमा फरक काम गराउने चुनौती लिन्छ?

सम्बन्धित समाचार

सबै