
नयाँ नेपाली फिल्म ‘चिराग’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।
निर्माण टिमले रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको हो।
‘चिराग’ आगामी मंसिर ५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने बताइएको छ। सार्वजनिक पोस्टरमा कलाकार त्यागमूर्ति देखिएका छन्। उनले तेस्रोलिंगीको भूमिका निर्वाह गरेका छन्, जहाँ उनलाई कसैले कुल्चिरहेको दृश्य देखिन्छ। त्यागमूर्ति फिल्मका मुख्य कलाकार मात्र नभई लेखक तथा निर्देशक पनि हुन्।
फिल्ममा “आशाको चिराग कहिल्यै निभ्दैन” भन्ने ट्यागलाइन दिइएको छ। यसमा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेरबहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेललगायतको अभिनय रहेको छ। सह–लेखन नरेश प्रसाद भट्ट र संकला गौतमले गरेका छन्। फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति स्वयं हुन्। हरिनन्दा ब्यानरमा निर्माण भएको यस फिल्ममा समावेश गीतहरूमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ। पार्श्व सङ्गीत लोकनाथ सापकोटा र मिक्सिङ आशिष सुनुवारले गरेका छन्।
फिल्मको छायांकन राहुल राई र मेफुज अन्सारीले गरेका हुन् भने सम्पादन सुभाष देवकोटाले गरेका छन्। कलरपोस्ट–प्रोडक्शनको जिम्मेवारी कल्पेश विश्वकर्माले सम्हालेका छन् भने VFX दिनेश ढकालले गरेका छन्। फिल्ममा श्रृङ्गार डीके हमालको छ भने गीत–संगीत पनि त्यागमूर्तिकै रहेको छ।