‘मन बिनाको धन’ को फर्स्ट–लुक पोस्टरमा यस्तो देखिए अशोक दर्जी, कथाको भयो खुलाशा

0 Shares

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ को फर्स्ट–लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अशोक दर्जीलाई स्कुलको ड्रेसमा देखाइएको छ। पोस्टरमा “जिरोदेखि हिरोसम्मको कथा” भन्ने ट्यागलाइन राखिएको छ। पोस्टरबाट सजिलै बुझ्न सकिन्छ कि फिल्मले अशोक दर्जीको हिजोदेखि आजसम्मको कथा बोल्नेछ।

फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउँदैछ। यसमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रिया झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायत कलाकारहरूको अभिनय रहेको छ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत जीवनमा ठूलो परिवर्तन ल्याएका थिए। सो गीतमा टंक बुढाथोकीको संगीत रहेको थियो। हाल दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

सामाजिक विषयवस्तुमा बनेको यो फिल्मको कथा टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। फिल्मकी निर्माता विष्णु माया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छिन्। यस्तै, जी.पी. सङ्ग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता रहेका छन्।

फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको सहायक निर्देशन रहेको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्टएफडी कम्पनीले वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै