
असोज १२ गते फूलपातीको दिन ‘माइतीघर’ रिलिज हुँदैछ। अभिनेता केदार घिमिरे उर्फ ‘माग्ने बुढा’ यस फिल्ममा आफ्नो परिचित अंदाजमै प्रस्तुत हुँदैछन्। फिल्मप्रति उनी आफ्नो हरेक चलचित्रजस्तै उत्साहित छन्। यद्यपि, उनले फरक परिवेश र परिस्थितिमा आफ्नो प्रस्तुतिलाई लिएर पनि उत्साह व्यक्त गरेका छन्। दर्शकले फिल्मबाट मनोरञ्जनसँगै विविध अनुभव पाउने आशा उनले व्यक्त गरेका छन्।
अभिनेता घिमिरेसँगको कुराकानीका मुख्य अंश:
– भर्खरै शीर्षक भूमिका गरेको, यसमा सहायक भूमिकामा देखिनु भएको छ। तपाईंका लागि शीर्षक भूमिका की सहायक भूमिका प्रिय हो?
मैले त्यसरी छुट्याएर हेरेको छैन। म साधारण टेलिभिजनमा अनुहार देखाउन पाएँ, केही चलचित्रमा देखिएर साथीभाइ र आफन्तलाई देखाउन पाएँ भन्ने मान्छे थिएँ। अब दर्शकको कृपाले मलाई मुख्य भूमिकामा अवसर दिनुभयो। जिम्मेवारीका हिसाबले म फरक मानेको छैन। जसरी म ‘माग्ने राजा’को प्रचारमा लागें, अहिले ‘माइतीघर’को प्रचारमा पनि लागिरहेको छु।
– ‘माइतीघर’मा तपाईंको भूमिका के हो?
म विवाहका लागि जोडी मिलाउने लमीको भूमिकामा छु।
– प्रचार सामाग्रीले तपाईं फेरि उही ‘माग्ने बुढा’ नै बनेको देखाएको छ। के नयाँ खाले चरित्र निर्माण गर्न नसक्नु भएको हो?
वास्तवमा म केही फरक गर्न चाहन्छु, तर निर्माताहरूले पनि त्यो किन्न तयार हुनुपर्छ। उहाँहरूले जे किन्नु हुन्छ, मैले त्यही बेच्ने हो। म विशेष क्षमता भएको कलाकार होइन, सामान्य हुँ। मलाई जे आउँछ, त्यही किनीरहनुभएको छ। नढाँटी भन्नुपर्दा म पनि त्यही बेचिरहेको छु।
– प्रस्तावित भूमिकाको बारेमा सुनेपछि फरक गरौं भन्ने विचार आयो?
यसलाई नै भनेर त बनाइन तर प्रयासचाँहि गरिरहेको हुन्छु । मैले कतिवटा फरक पात्र गर्ने प्रयास गरिराख्या हुन्छु तर ती बिकेका छैनन भनुम् न । लकडाउनको लगत्तै यो साइबर सेकुरिटीका लागि गर्याथे । त्यसमा मलाई चिन्दै चिनिदैन । त्यो चिज मैले मेरो टिकटकतीर फाट्टफुट कहिलेकाँही हालिरहेको हुन्छु । त्यो ४३ एपिसोडलाई त बिक्यो तर चलचित्र आदिको लागि बिकाउन सकेको छैन ।
– सँधै एउटै प्रकारको पात्रका लागि मेकरले खोज्दा तपाईंलाई कस्तो लाग्छ?
हुन त यो प्रश्न मलाईमात्र आउने होइन होला । धेरैजना जसले नर्मल अभिनय गर्नुहुन्छ उहाँहरुलाई पनि आउँछ होला । केही कलाकारहरु फरक हुनुहुन्छ जस्तै हरिवंश आचार्य दाइ, सिताराम कट्टेलजी, विपिनजीहरु हुनुहुन्छ जसले फरक गर्नुहुन्छ । त्यस्तै अर्को हाम्रो सौगातजी हुनुहुन्छ जो भर्सटायल हुनुहुन्छ । कति हामी नर्मल नै प्रस्तुत हुन्छौं अलिअलि फरक देखिएला ।
– ‘माइतीघर’ले दर्शकलाई के दिनेछ?
एउटा त हास्य प्रदान गर्नेछ। अर्को, छोरी–चेलिहरूका लागि माइतीघरको महत्त्व देखाउनेछ, र छोरीलाई विदाइ गर्दा भावनात्मक गहिराइ प्रस्तुत गर्नेछ। यो तामाङ संस्कृतिमा आधारित फिल्म भएको कारणले सांस्कृतिक पक्ष पनि देखाउनेछ।