माओत्सेको ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका चर्चित अनुहार विश्वास र माया अनुबन्धित

0 Shares

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यस फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन्।

गुरुङ फिल्मका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्योसिरसुुवामा अभिनय गरेका छन्। यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन्। यी दुवै गुरुङ फिल्ममार्फत पहिलोपटक नेपाली रजतपटमा डेब्यु गर्न उत्साहित रहेको बताउँछन्।

त्यसमाथि गुरुङ फिल्मका ‘गडफादर’का रूपमा परिचित माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सनपट्टा’बाट मेन स्ट्रिमको फिल्ममा डेब्यु गर्न पाउँदा अझै उत्साहित भएको उनीहरूले बताएका छन्।

कार्तिकबाट फ्लोरमा निस्कने यो फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्मले लोभी युवक कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताएका छन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। फिल्ममा अन्य कलाकार को-को रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताएका छन्। फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ। सुशन प्रजापतिले खिच्ने फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन्।

निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो फिल्म बक्सअफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय रहेका छन्। उनले यसअघि गुरुङ भाषाका फिल्महरू निर्देशन गरेका थिए। माओत्से कलाकार, निर्देशकसँगै निर्माता पनि हुन्।

सम्बन्धित समाचार

सबै