
फिल्म ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ। ‘न्यौली बनैमा’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो।
गीतका शब्द प्रशान्त शिवाकोटीका हुन्। संगीत पनि प्रशान्तकै छ। स्वर प्रशान्त शिवाकोटी र शान्तीश्री परियारले दिएका छन्।
प्रेमिल शैलीको यस गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा प्रस्तुत गरिएको छ। गीतमा प्रेमीले प्रेमिकासँग सँगै जीवन बिताउने सपना व्यक्त गरेका छन् भने प्रेमिकाले प्रेमीको बानी–व्यवहारप्रति शंका प्रकट गरेकी छन्।
गीतमा प्रेमीको आग्रहअनुसार अन्ततः प्रेमिका सहमत हुन्छिन्। भिडियोमा पनि कथा आकर्षक बनेको छ। भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय देख्न सकिन्छ। गीत र भिडियोले उनीहरूको जोडीलाई संकेत गरेको छ।
आगामी कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि आर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा, आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को सम्पूर्ण छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो।
मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। प्रशान्त शिवाकोटीले संगीत दिएका छन् भने सम्राट बस्नेतले एक्सन निर्देशन र प्रदीप लामाले नृत्य निर्देशन गरेका छन्।
यो फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएनले र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।