`माइतीघर´ फिल्मले पायाे युनिभर्सल सर्टिफिकेट

0 Shares

‘माइतीघर’लाई सबैले हेर्न पाउने भएका छन् । पटकथाको चर्चामा रहेको फिल्म ‘माइतीघर’ असोज १३ गतेबाट रिलिजमा आउँदैछ । यस फिल्मलाई चलचित्र जाँचपास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो । अब यो फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।

दशैंको फूलपातीको अवसर पारेर रिलिज हुन लागेको यस फिल्मले व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारबारे पनि छलफल भएको थियो । सेन्सरका अधिकांश कर्मचारीले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए ।

फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीले तारिफ गरेको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने विश्वास व्यक्त गरेका छन् ।

फिल्मको बुकिङ खुलिसकेको छ । यसले देशभरका हलमा सयभन्दा बढी शो पाइसकेको छ । अझै पनि केही हलमा शो खुल्न बाँकी छ । फिल्मलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शो दिएका छन् । जसका कारण दर्शक फिल्मप्रति आशावादी र प्रतीक्षारत रहेको बुझिन्छ ।

फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ । फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ ।

रामशरण पाठकले लेखेको यस फिल्मको कथावस्तु दर्शकलाई मन पर्ने र बलियो ‘वर्ड अफ माउथ’ आउने अपेक्षा गरिएको छ ।

CamScanner 09-25-2025 13.23

सम्बन्धित समाचार

सबै