
मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।
एलिस कार्कीको संगीतमा तयार भएको उक्त गीतमा प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्दमा बनेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।
आलोक शुक्लाले खिचेको भिडियोमा फिल्मका अधिकांश कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ र लुनिभा तुलाधर फिचर छन् ।
यो गीत नेपाली दर्शक–श्रोताका लागि विभिन्न रमाइलो जमघटमा नृत्यप्रधान बन्ने निश्चित देखिन्छ । लामो समयपछि नेपाली फिल्ममा यस्तो धमाकेदार गीत आएको छ, जसमा आमा–बुबा, काका–काकी, दाजु–दिदी, दाजु–भाइ, दिदी–बहिनी सबैसँगै नाच्न सकिन्छ । भिडियोमा कलाकारहरुलाई सटिक तरिकाले प्रयोग गरिएको छ, जसले मज्जाको फ्युजन नृत्यको माहोल सिर्जना गरेको छ ।
निर्माण पक्षले यो गीत नेपालीहरुको हरेक खुशीको जमघटमा प्रिय बन्ने विश्वास व्यक्त गरेको छ । फिल्म ‘हर्ष’ प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता हिक्मत चोखाल रहेका छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेल आफैले लेखेकी हुन् । दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जीसमेत रहेकी पौडेलले यस फिल्ममार्फत स्व. रेग्मीको विरासतलाई निरन्तरता दिने अपेक्षा राखिएको छ ।
न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी र आमसञ्चारमा स्नातक तथा व्यवस्थापन–नेतृत्वमा स्नातकोत्तर गरेकी निर्देशक पौडेल यसअघि केही छोटा फिल्म निर्माण गरिसकेकी छिन् । सम्पूर्ण छायांकन चितवनमा गरिएको फिल्म हाल पोष्ट–प्रोडक्सनको चरणमा छ । निर्देशक पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई उत्कृष्ट अनुभव दिने विश्वास व्यक्त गरेकी छन् ।
‘हर्ष’ मा समीर र हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी, स्व. शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काको शब्दरचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा कुलदीप शर्मा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्ने ‘हर्ष’ को डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।