
अभिनेता धीरज मगर आफ्नो फूलपाती रिलिज ‘माइतीघर’लाई लिएर उत्साहित छन् ।
पहिलोपटक मल्टिस्टार फिल्ममा काम गरिरहेकाले पनि उनलाई विशेष उत्साह लागेको हो । यो फिल्मको स्क्रिप्ट उनले दुई वर्षअघि नै हात पारेका थिए ।
स्क्रिप्ट पढ्ने बित्तिकै उनी यो फिल्म गर्न राजी भए ।
उनले भने– “यसले तामाङ संस्कृतिको सेरोफेरोमा जुन किसिमले कथा प्रस्तुत गर्दछ, त्यो मलाई मनपरेर यसमा जोडिएको हुँ । यसले माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले मलाई आकर्षित गर्यो ।”
फिल्मको चरित्रबारे बोल्दा उनले आफूलाई दर्शकले ‘ग्रे सेड’ मा देख्ने बताएका छन् । ट्रेलरले पनि पात्रको जटिलता झल्काउने उनले बताए ।
उनले थपे– “मेरो पात्र पूरै नकारात्मक नभए पनि ग्रे सेडमा छ । यही पात्रको यात्रा नै मलाई मनपरेको हो । ट्रेलर हेर्दा पनि भिन्न गेटअपमा मेरो पात्र देखिन्छ । कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रूपमा प्रकट हुन्छ । यसले दर्शकमाझ मेरो पात्रबारे कौतुहल र दुविधा दुवै सिर्जना गरेको मैले महसुस गरिरहेको छु ।”
पात्र प्रस्तुतिको जिम्मा निर्देशक मिलन तामाङमाथि नै रहेको उनले जनाए ।
फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने कुरामा धीरज आत्मविश्वासी देखिए । फिल्मको क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउन सक्ने उनले अपेक्षा राखेका छन् ।
उनले भने– “फिल्म हेर्दा दर्शक हाँस्दै–हाँस्दै रोउछन् भन्नेमा ढुक्क छु । यो पारिवारिक फिल्म दशैंको अवसरमा नेपाली दर्शकलाई रमाइलो समय बिताउने उत्कृष्ट मनोरञ्जन दिनेछ भन्नेमा म आशावादी छु । यसले पूर्ण मनोरञ्जन दिन्छ भन्ने कुरा ट्रेलरले नै प्रष्ट पारिसकेको छ । अर्को कारण, यसले दर्शकलाई हसाउँदै रुवाउनेछ । र तेस्रो कारण, यो पूर्णरुपमा पारिवारिक फिल्म हो ।”