चन्द्रले सके ‘आ बाट आमा’को छायांकन, अर्को फिल्मका लागि पललाई नै गरे अनुबन्ध

0 Shares

चन्द्र पन्तको निर्देशनमा निर्माण सुरु भएको फिल्म ‘आ बाट आमा’को छायांकन २५ दिनमै सम्पन्न भएको छ।

फिल्मको छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को अनटाइटल फिल्मका लागि अनुबन्ध गरेका छन्।

निर्देशक पन्तले फिल्मको नाम र अन्य कलाकारबारे केही दिनपछि जानकारी दिने बताएका छन्। अहिलेका लागि अभिनेताका रूपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने विश्वास व्यक्त गरेका छन्।

निर्देशक पन्तले फिल्म ‘आ बाट आमा’को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभमुहूर्तसँगै चितवनबाट सुरु गरेका थिए। एक महिनाको सेड्युलमा छायांकन सुरु गरे पनि कलाकार तथा प्राविधिक टोलीको मेहनतका कारण ५ दिन अगावै सुटिङ सम्पन्न भएको उनले जानकारी दिएका छन्।

चितवन, काठमाडौंलगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेतीलगायत कलाकारहरूले मुख्य भूमिका निभाएका छन्। आमा र सन्तानबीचको माया, ममता तथा स्नेहलाई फिल्मले प्रस्तुत गर्नेछ।

फिल्मको छायांकन सकिएपछि अभिनेता पल शाहले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए। उनले भने, “म आशावादी छु, तपाईं भगवानसरहका दर्शकहरूले ‘आ बाट आमा’लाई पनि सधैंझैँ माया र समर्थन गर्नुहुनेछ, र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।”

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डीओपी नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ।

यस फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। निर्माण पक्षका अनुसार अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शन अधिकार बिक्री भइसकेको हो। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै