
यही दशैंको फूलपातीबाट रिलिज हुन लागेको फिल्म हरिबहादुरको जुत्ता ले आफ्नो नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक गरेको छ।
समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको यस गीतमा पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका शब्दलाई संगीतकार वसन्त सापकोटाले जीवन्त पारेका छन्। गीतको एरेन्ज कुशल सिंहले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग श्याम श्वेत रसाइलीले गरेका हुन्।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोलाई प्रेमभावनाले भरिएको र एकअर्काको प्रशंसा गर्ने शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा प्रकाश सपूत, दिव्य देव, हरिहर शर्मा, दिनेश काफ्ले लगायत फिल्मका अन्य मुख्य कलाकारहरूलाई पनि देख्न सकिन्छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल र सीता न्यौपानेलगायतका चर्चित कलाकारको अभिनय रहेको छ। फिल्ममा हरिवंश आचार्यले आफ्नो चर्चित पात्र हरिबहादुरलाई पुनः जिवन्त पारेका छन्। निर्माण पक्षका अनुसार यसपटक उक्त पात्रको भावनात्मक पाटोलाई पनि गहिरो रूपमा प्रस्तुत गरिएको छ।
फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, र वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपूतको संगीत फिल्ममा समावेश गरिएको छ। यसअघि सार्वजनिक ‘बेला बितेसी’ गीत युट्युबमा ४१ लाखभन्दा बढी पटक हेरिसकिएको छ, जसले फिल्मप्रति दर्शकको उत्सुकता झन् बढाएको छ।