‘माइतीघर’ले गर्दा किन प्रेसरमा थिइन् उपासना ?

0 Shares

एउटा राम्रो कथा आएको भनेर माइतीघर फिल्मको प्रस्ताव भएसम्म अभिनेत्री उपासना सिंह ठकुरी खुशी थिइन्। तर, त्यो खुशीसँगै उनले दबाबको अनुभव पनि गरिन्।

आगामी रिलिज माइतीघरको सन्दर्भमा संवाद गर्दै उपासनाले फिल्म स्वीकार गर्दा महसुस गरेको दबाबलाई ‘म राम्रो गर्नेछु’ भन्ने आत्मविश्वासले कम गर्दै लगिन्। फिल्मका कलाकारहरूको लाइनअपले पनि उनलाई हौसला प्रदान गर्‍यो।

“एकदम लोकप्रिय फिल्मको नाममा बनिरहेकाले एउटा प्रेसर थियो, तर कलाकारहरूको लाइनअपले मलाई अझ राम्रो गर्नुपर्छ भन्ने सोच जगायो,” उनले भनिन्।

राम्रो कथाले दंग परेकी उपासनाले आफूले निर्वाह गर्ने पूर्णिमा नामक तामाङ युवतीको भूमिकामा प्रष्टसँग उत्रिन लेखक रामशरण पाठकमाथि भर परिन्। लेखकले आफ्ना पात्रलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गरेकाले उनले पात्रलाई बुझे र आफूलाई पूर्णिमामा ढाल्न सकिन्।

“लेखक आफ्ना पात्रमा धेरै स्पष्ट हुनुहुन्थ्यो। उहाँसँग बस्दा उहाँले पात्रप्रति राखेको चाहना बुझें र मेरो पूर्णिमालाई कसरी उत्कृष्ट बनाउने भन्नेमा केन्द्रित भएँ,” उपासनाले भनिन्।

उनका अनुसार माइतीघरमा पूर्णिमा बन्नु एउटा नयाँ अनुभव थियो। यसअघि उनले खुस्मामा मगर युवती र कबड्डी कबड्डी कबड्डीमा थकाली युवतीको भूमिका निभाइसकेकी थिइन्। ती पात्रभन्दा पूर्णिमा बढी भावनात्मक र पारिवारिक रहेको उनले अनुभव गरिन्।

“यसमा म तामाङ युवतीको भूमिकामा छु, जुन मेरो लागि पहिलो अनुभव हो। यो मायालाग्दो र भावनात्मक पात्र हो, जो आफ्नो परिवारसँग गहिरो रूपमा जोडिएकी छिन्,” उनले भनिन्।

फिल्ममा आफूले सक्दो राम्रो काम गरेको र अन्य कलाकारहरूले पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेको उनको भनाइ छ। तर, यी सबैको मूल्यांकन गर्ने दर्शक नै हुने उनको विश्वास छ।

उपासनाले दर्शकको प्रतिक्रिया पर्खंदै आफू आत्मविश्वासी भएको बताइन्। “मलाई यो फिल्मको स्क्रिप्ट निकै मन परेको हो। जब दर्शकहरूले यो फिल्म हेर्नुहुन्छ, विवाहित महिलाहरूले आफूलाई यसमा महशुस गर्नुहुनेछ, अन्यले आफ्ना छोरीहरूको भावनासँग साक्षात्कार गर्नुहुनेछ। दर्शकले यसलाई कुन तहमा महसुस गर्नुहुन्छ भन्ने प्रतिक्रियाका लागि म उत्साहित छु,” उनले भनिन्।

मिलन तामाङ निर्देशित माइतीघर असोज १३ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउँदैछ।

सम्बन्धित समाचार

सबै