अभिनेता दयाहाङ राईको नजरमा आफ्नो नयाँ फिल्म ‘वरिष्ठ बलराम’ के हो ?

0 Shares

अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन्।

आफ्नो इज्जत र प्रतिष्ठा जोगाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उनले बताए।

‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन्।

मान्छेको भित्री रूप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ देखिन चाहने चरित्र हरेक व्यक्तिमा हुने उनले बताए। “मान्छे जस्तोसुकै होस्, आवरणमा भने ऊ समाजमा वरिष्ठ र प्रतिष्ठित देखिन चाहन्छ। यो मानवीय स्वभाव हो,” दयाहाङ भन्छन्, “चलचित्रमा यही कुरा देखाइएको छ, मेरो चरित्र पनि त्यही हो।”

आफ्नो चरित्र र चाहनामा टक्कर दिँदै अर्को पात्र आफू वरिष्ठ देखिने लोभमा हुने संघर्ष चलचित्रमा रहेको उनले बताए।

कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्।

वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।

मनकृष्ण महर्जनले छायांकन गरेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।

चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै