दयाहाङ राईजस्तो वरिष्ठ कलाकारसँग पर्दामा टकराव देखाउनु केही चुनौतीपूर्ण – विजय बराल

0 Shares

अभिनेता विजय बरालका अनुसार ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ बन्ने चाहनाको कथा हो। व्यक्तिभित्रको सोचबीचको टकराव नै चलचित्रको मुख्य विषय भएको उनले बताए।

‘वरिष्ठ बलराम’का दुई मुख्य पात्र दयाहाङ र विजयको टकरावमा आफू ‘बले’ पात्रको रूपमा रहेको उनले बताए।

“चलचित्रको नाम कसको नाममा आधारित हो, बलराम को हो भन्ने कुरा सिनेमा रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही थाहा हुनेछ,” विजय भन्छन्, “तर चलचित्रमा मलाई बले भनेर भनिएको छ। त्यसैले ‘वरिष्ठ बलराम’ को हो नभनौँ, मलाई बले भनेर सम्बोधन गरिएको छ।”

उनले दयाहाङ राईजस्तो वरिष्ठ कलाकारसँग पर्दामा टकराव देखाउनु केही चुनौतीपूर्ण भएको बताए।

“अग्रज भएकाले सुरुवातमा म अलि हिचकिचाएको थिएँ। दाइसँग सोध्थें— के गरौँ, कसरी गरौँ? दाइले भन्नुभयो, ‘अफ्ठ्यारो नमान्, यसरी गर।’ अनि म गर्थें,” विजय भन्छन्, “अग्रजप्रति सदैव सम्मान रहने भएकाले केही अड भने हुने रहेछ।”

‘वरिष्ठ बलराम’को पात्रले आफ्नो सिने करियरमा सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन्।

कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्।

वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।

मनकृष्ण महर्जनले छायांकन गरेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।

चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै