
‘वरिष्ठ बलराम’बाट फूलफ्लेड्ज हिरोइनका रुपमा नेपाली रजतपटमा अभिनेत्री नायिका समृद्धि अर्याल आउँदैछिन्।
पहिलो सिनेमा ‘फर्की फर्की’मा सहायक भूमिकामा डेब्यू भएकी अर्याल सोही फिल्मबाट निर्देशक सुरेन्द्र पौडेलको नजरमा परिन् । फिल्मका दुई प्रमुख कलाकार दयाहाङ राई र विजय बराललको नाम सुन्ने बित्तिकै उनले स्क्रिप्ट कस्तो छ भन्नेमा भन््दा पनि गतिला कलाकारबाट सिक्न पाउने लालसाले यो फिल्ममा आफूलाई अनुबन्धित गरिन् ।
यसरी फिल्ममा जोडिए पनि आफू चलचित्रमा शो–पिस मात्रै नभएको उनको भनाइ छ।
दुई अग्रज कलाकारबीच आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको उनले बताइन्।
“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “मेरो भूमिका दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको छ।”
‘वरिष्ठ बलराम’को पात्रले आफ्नो सिने करियरमा सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन्।
कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।
मनकृष्ण महर्जनले छायांकन गरेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।
चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।