‘वरिष्ठ बलराम’ को ट्रेलरले के भन्छ ?

0 Shares

 फिल्म ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखाइएको छ।

खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङले सञ्चालन गरिरहेको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्व वरिपरि ट्रेलर केन्द्रित छ।

आफू गरिब भएकै कारण अरूको हेपाइमा परेको महसुस गर्ने विजय र आफूले ठेकेमा लिएको खोलामा अर्कोको हस्तक्षेप सहन नसक्ने दयाहाङबीचको नोकझोक ट्रेलरमा प्रस्तुत गरिएको छ।

दयाहाङ अगाडि–पछाडि केटाहरूको समूहसहित रवाफका साथ हिँडिरहेको देखिन्छ भने विजय नवयुवती समृद्धि अर्यालको प्रेममा परेका देखिन्छन्।

जात र कुल ठेगान नभएका विजयको आफ्नो पहिचान परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो नलागोस् भन्ने दयाहाङको अहंकार ट्रेलरमा देख्न सकिन्छ। आफ्नो झोलामा खोला राखेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद लिन खोज्ने विजयबीचको द्वन्द्वलाई ट्रेलरमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।

स्तर उकास्न खोज्ने र स्तर कायम राखिराख्न खोज्नेबीचको संघर्ष ट्रेलरमा रोचक रूपमा देखाइएको छ। ट्रेलरमा ‘वरिष्ठ’को भूमिकामा दयाहाङ र ‘बलराम’को भूमिकामा विजय देखिएका छन्।

‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुँदैछ। फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।

फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, र प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्मका निर्माता आशिष एच तामाङश्रीराज कार्की हुन्। कार्यकारी निर्माता प्रदीप जी धामीपुष्कर बी. घिमिरे हुन् भने लाइन प्रोड्युसर राम विष्ट रहेका छन्।

मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।

फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै