‘परान’ को पोएटिक टिजरले के भन्छ ?

0 Shares

आगामी कार्तिक १४ गते प्रदर्शनमा आउने फिल्म ‘परान’ले पोएटिक टिजर सार्वजनिक गरेको छ। वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त टिजरमा कवि नवराज पराजुलीका शब्दहरू उनकै स्वरमा प्रस्तुत गरिएको छ।

टिजरमा कवि पराजुलीका शब्दमार्फत फिल्मका मुख्य पात्र निर शाहको भावनात्मक पक्षलाई चित्रण गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त टिजरमा जीवनको उत्तरार्धमा रहेका एक बाबुको आफ्ना छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने चाहना अभिव्यक्त गरिएको छ।

कवितामा छोरालाई ईश्वरको उपहार मानी हुर्काएको र अब त्यो छोराले जीवनको अन्तिम घडीसम्म बाबुलाई साथ दिनुपर्ने अपेक्षा प्रस्तुत गरिएको छ।

कवि पराजुलीले उक्त भावना निम्न शब्दहरूमा व्यक्त गरेका छन्:

जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नका लागि छोराले मलाई लडाइँ छोड्दैन।
यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन।
ईश्वरले जिम्मा दिएको छोरो जन्माएँ, हुर्काएँ,
छोराले मलाई ईश्वरको जिम्मा नलागी छोड्दैन।
यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन।

उक्त टिजरमा यी शब्दहरू फिल्मका मुख्य पात्र निर शाहमार्फत प्रस्तुत गरिएको छ।

उनीसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइली लगायत कलाकारहरूको पनि उपस्थिति देख्न सकिन्छ।

यो पोएटिक टिजरले दर्शकलाई फिल्मको मूल विषयवस्तु — बाबु र छोराबीचको सम्बन्ध, त्यसको सामाजिक हैसियत, र समयले ल्याउने उतारचढाव — को झल्को दिने उद्देश्य बोकेको देखिन्छ।

यस टिजरले ‘परान’ फिल्म एक उत्कृष्ट पारिवारिक कथा बन्ने स्पष्ट संकेत दिएको छ।
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो।

फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ।

रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरूङको सम्पादन रहेको फिल्म ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो।

यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो, जसले गर्दा फिल्मप्रति दर्शकको अपेक्षा झनै उच्च रहेको छ।

सम्बन्धित समाचार

सबै