
अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘धागो’ले आफ्नो दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रबार सार्वजनिक गरेको छ।
तर, गीत सार्वजनिक भएको दुई दिनमै दर्शकको मन जित्न असफल भएको देखिन्छ। ओएसआर डिजिटलजस्तो ठुलो प्लेटफर्मबाट रिलिज गरिएको गीतले हालसम्म जम्मा ७ हजार १ सय ८० भ्यूज, ३४० लाइक र ६३ कमेन्ट मात्र पाएको छ।
भ्यूज कम भए पनि कमेन्टहरू सकारात्मक रहेका छन्, जसले गीत हेरेका दर्शकले यसको भावनात्मक पक्ष मन पराएको देखाउँछ।
फिल्मको सुरुवाती प्रचारका लागि गीत–संगीत सधैं महत्वपूर्ण रहँदै आएको छ। तर, यस पटक ‘धागो’ले दोस्रो पटक पनि त्यसमा सफलता हात पार्न नसकेको देखिन्छ। यसले कार्तिक २८ गते (नोभेम्बर १३) रिलिज हुन लागेको फिल्मको प्रारम्भिक बजार चुनौतीपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।
सार्वजनिक गीतले फिल्मको भावनात्मक पाटो उजागर गरेको छ, जसमा पारिवारिक सम्बन्ध र तिनका गहिरा आयामहरूलाई छुन खोजिएको छ। पुष्पन प्रधानको स्वर र संगीत रहेको गीतको मेलोडी ठूलो संख्यामा दर्शक आकर्षित गर्ने खालको भने छैन। यसमा पुष्पसँगै करुणा अधिकारीको स्वर पनि समावेश छ।
गीतको भिडियोमा सुरक्षा पन्त र प्रभात थापाबीचको भावनात्मक कथा प्रस्तुत गरिएको छ।
उदिप राणा थापाको निर्देशनमा बनेको ‘धागो’ नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ। म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन्। सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखिएको फिल्ममा सुरक्षा पन्त, प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ र पप्पु विश्वकर्माको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउतले फिल्ममा विशेष भूमिकामा देखिएकी छिन्।
फिल्मको छायांकन अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।
फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालमा यसको वितरण आरआर फिल्म्सले गर्नेछ।