
शुक्रबार बिहान निर्देशक टंक बुढाथोकीले आफ्नो आगामी फिल्म ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक गरेका छन्।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झालाई देख्न सकिन्छ। यसअघि सार्वजनिक गरिएको पोस्टरमा भने केवल अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो।
टंक बुढाथोकीकै निर्माण र निर्देशनमा तयार भएको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। फिल्मको कथा टंक बुढाथोकीले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार गरेका हुन्।
कार्तिक २१ गते बाट प्रदर्शनमा आउन लागेको फिल्ममा निर्माता विष्णु माया मैनाली रहेकी छन् भने कार्यकारी निर्माता सपना शर्मा हुन्। यस्तै, जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह–निर्माता रहेका छन्।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत लोकप्रियता हासिल गरेका थिए। सो गीतमा संगीत टंक बुढाथोकीले दिएका थिए। हाल अशोक दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन, र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ।
फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन्।