
भिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’मा आफ्नो आवरणमा पनि केही फरकपन देखाउने प्रयास गरेको बताएका छन्। प्रायः गाउँले र दुःख पाएका गरीब पात्रको भूमिकामा देखिने दयाहाङ यसपटक शहरिया धनी पात्रको रूपमा देखिने भएका छन्।
‘वरिष्ठ बलराम’मा उनी कार चढेर ५–७ जना पात्रहरूलाई अगाडि–पछाडि लगाएर रवाफ देखाउने चरित्रमा देखिनेछन्। त्यसैले उनले यसपटक आवरणमा पनि केही फरकपन देखिने बताएका हुन्। उक्त आवरण ट्रेलरमै पनि झल्किएको छ। उनका अघिल्ला फिल्महरूका तुलनामा यसमा उनको लुक निकै भिन्न देखिन्छ।
कोट, पाइन्ट र टाइमा ठाँटिएर हिँड्ने पात्र उनले कमै खेलेका छन्। “मलाई खासमा पात्रको बाहिरी आवरणभन्दा पनि भित्री पक्षमा पसेर काम गर्न मन पर्छ,” दयाहाङ भन्छन्, “यो फिल्मको स्क्रिप्ट पहिलो पटक पढ्दा मैले अहिलेको जस्तो गेटअप सोचेको थिइनँ।”
‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। निर्देशक पौडेलका अनुसार, “दयाहाङको पात्र बाहिरबाट वरिष्ठ देखिए पनि भित्री रूपमा फरक छ। त्यसैले मैले उनलाई सुट र टाइमा ठाँटिएको पात्रको रूपमा सोचेको हुँ।”
चितवनको गर्मीमा दयाहाङले सुट, कोट र टाइ लगाएर अभिनय गरेका छन्, जुन उनको लागि केही नौलो अनुभव रह्यो। “आवरणमा फरक थियो तर असजिलो थिएन,” उनी भन्छन्, “तर कोट लगाउँदा भने साँच्चै गाह्रो भयो, गर्मीमा कोट लगाउनु नै चुनौती थियो।”
‘वरिष्ठ बलराम’मा दयाहाङ यस्तो पात्रमा देखिन्छन्, जो आफ्नो वरिष्ठता कायम राख्न चाहन्छ र अरूले त्यसमा हस्तक्षेप गर्न खोज्दा प्रतिकार गर्छ। फिल्ममा विजय बरालसँग उनको टकराव नै कथा केन्द्रित छ।
फिल्म ‘वरिष्ठ बलराम’ भाइटीका दिन, कात्तिक ६ गते रिलिज हुँदैछ। यसमा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोला सापकोटा र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदीप ढकाल, परमोद अग्रहरी, लविस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई र कुन्दन थारु पनि फिल्ममा देखिने छन्।
बाल कलाकारका रूपमा सुजेन थापा र साइसा गौचन रहेका छन्।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन्। कार्यकारी निर्माता प्रदीप जी. धामी र पुस्कर बी. घिमिरे छन् भने लाइन प्रोड्युसर राम विष्ट हुन्।
फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।
यो फिल्मलाई काठमाडौं उपत्यकाभित्र डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।