
कार्तिक ६ गते भाइटीका दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ। गीतका शब्द र संगीत प्रशान्त शिवाकोटीको रहेको छ भने स्वर प्रशान्त शिवाकोटी र झुमा लिम्बुले दिएका छन्। मधुर लय र भावनाले भरिएको गीतले फिल्मको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ।
‘सोल्टिनी’को कथा अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने संघर्षलाई उजागर गर्छ। निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेको फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारको पनि अभिनय छ।
यसअघि सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको चासो बढाएको थियो। ट्रेलरमा सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गरिएको छ, जसले ‘सोल्टिनी’लाई केवल मनोरञ्जन मात्र नभई सामाजिक चेतना फैलाउने फिल्मको रूपमा पनि स्थापित गर्न खोजेको देखिन्छ।
फिल्मको प्रमोसन अभियान अन्तर्गत कलाकार टोली देशका विभिन्न सहरमा देउसी–भैलो कार्यक्रममा सहभागी हुने भएको छ। पहिलो दिन कार्तिक २ गते झापाको दमक, दोस्रो दिन कार्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कार्तिक ४ गते कास्कीको पोखरा, र चौथो दिन कार्तिक ५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ।
प्रोजेक्ट टिमका सुजन खतिवडाका अनुसार, यी कार्यक्रममा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रप्रति सकारात्मक ऊर्जा साट्ने र सांस्कृतिक वातावरणमा नेपाली फिल्मको प्रचार गर्ने उद्देश्य राखिएको छ।